वीरगन्ज महानगरपालिका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंहसति वीरगन्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवम् कार्यवहाक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, गृह मन्त्रालय छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. १० वतन भएकी रिता भट्टराईविरुद्ध सो मुद्दा दायर भएको छ ।
आयोगका अनुसार पर्साको वीरगन्ज महानगरपालिका वडा नं. ३ र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



























