अब पटक–पटक भर्ना शुल्क असुल्ने विद्यालयमाथि कारबाही
काठमाडौं । अब हरेक वर्ष पटक–पटक विद्यार्थीबाट भर्ना शुल्क असुल्ने विद्यालयमाथि कारबाही हुने भएको छ। शिक्षा, विज्ञा तथा प्रविधि मन्त्रालयले एक परिपत्र जारी गर्दै हरेक वर्ष विद्यार्थीबाट भर्ना शुल्क असुल्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिएको हो।
‘एउटै विद्यालयमा एकपटक भर्ना शुल्क बुझाए पुग्छ’, परिपत्रमा भनिएको छ, ‘तर विद्यालयहरुले विद्यार्थीहरुबाट हरेक वर्ष भर्ना शुल्क असुलिरहेको गुनासो प्राप्त भएका छन्। नियमित शुल्क असुल्ने विद्यालयमाथि कारबाही गर्न स्थानीय तहलाई आग्रह छ।’
यसैगरी शैक्षिकसत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना नगर्न पनि मन्त्रालयले चेतावनी दिएको छ। ‘शिक्षा नियमावली, २०५९मा कुनै पनि विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नमिल्ने स्पष्ट व्यवस्था छ’, परिपत्रमा भनिएको छ। यो व्यवस्था उल्लंघन गर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन पनि स्थानीय तहलाई मन्त्रालयले आग्रह गरेको छ।
प्रचलित कानुनअनुसार भर्ना भएपछि मात्र स्वीकृत भएको शीर्षकमा स्वीकृत भएको शुल्कमात्र लिन पाउने व्यवस्था रहेको छ। तर, विद्यालयहरुले विद्यार्थीहरुबाट अग्रिम शुल्क असुल गरेको तथा स्वीकृतभन्दा बढी शुल्क लिएको र तोकिएको शीर्षकभन्दा फरक शीर्षकमा शुल्क लिएकोजस्ता गुनासा पनि प्राप्त भएको मन्त्रालयले जनाएको छ।
त्यसरी असुल गरिएको शुल्क तत्काल फिर्ता गराउनका साथै सोहीअनुसार भएको नभएको अनुगमन गरी नभएको सम्बन्धित विद्यालयलाई आवश्यक कारबाही गर्न पनि मन्त्रालयले स्थानीय तहसँग आग्रह गरेको छ।























