stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

चुनावी रौनकले बढायो सेयर बजार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्लो समय निकै सुस्त रहेको सेयर बजारमा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएसँगै हरियाली देखिएको छ । निर्वाचन सुनिश्चित भएसँगै लगानीकर्ताको मनोबल बढ्दा मनोनयन दर्ताको दिन मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि उच्च अङ्कले बढेको छ ।

मङ्गलबार सेयर बजार ४२ अङ्कले बढ्दा परिसूचक २७ सयमाथि लागेको छ भने कारोबार रकम पनि पछिल्ला केही दिनयताकै उच्च विन्दुमा पुगेको छ । पछिल्ला केही महिनादेखि सेयर बजारमा परिसूचक र कारोबारमा वृद्धिदर न्यून थियो ।

मनोनयन दर्ताको दिन बजारमा छाएको हरियालीले लगानीकर्ताको उत्साह दीर्घकालीन भरोसाभन्दा तत्कालीन राजनीतिक घटनाबाट सञ्चालित देखिएको सेयर विश्लेषक आदित्य शिवाकोटीले बताउन्ुभयो ।

निर्वाचनसँगै आर्थिक नीति, सरकारी खर्च र तरलताप्रति बढेको अपेक्षाले सेयर बजारमा नयाँ ऊर्जा भरेको भन्दै उहाँले नेप्सेमा देखिएको उकालोले लगानीकर्ता चुनावपछि नीतिगत स्पष्टता र आर्थिक गतिविधिको तीव्रता खोजिरहेको उहाँको भनाइ छ ।

विगतमा लगानीकर्तामा भएको अन्योलका कारण बजार सुधारमा सुस्तता आए पनि अब भने बजारले गति लिने ब्रोकर रामचन्द्र भट्टराईले बताउनुभयो । मुलुक निर्वाचनको माहोलमा होमिँदा धेरैको संशय हटेकाले त्यसको प्रभाव बजारमा देखिएको उहाँको बुझाइ छ ।

पछिल्ला दिनको माहोलले बजारको मनोबल उठेको छ, तरलता बजारमा जति पनि छ । त्यो जनताकै पैसा हो । लगानी गर्न ढुक्क वातावरण बने पैसा जति पनि आउँछ ।

सेयर बजारमा अहिले देखिएको उछाललाई आर्थिक आधारभन्दा बढी मनोवैज्ञानिक र राजनीतिक सङ्केतसँग जोडिएको प्रतिक्रियाका रूपमा हेर्नुपर्ने विश्लेषक शिवाकोटी बताउनुहुन्छ ।

निर्वाचनको औपचारिक प्रव्रिmया सुरु हुनासाथ बजारमा अनिश्चितता घट्दै गएको सन्देश प्रवाह भएको भन्दै यसले लगानीकर्ताको मनोबल बढाउन भूमिका खेलेको उहाँले बताउनुभयो ।

“बजारमा अस्थायी तर बलियो सकारात्मक सन्देश गएको छ । बजारलाई चुनावभन्दा पनि चुनावपछि के हुन्छ भन्नेले बढी असर गर्छ,” उहाँले भन्नुभयो, “चुनाव नजिकिँदा तरलता र कारोबार बढ्नु नेपालमा दोहोरिँदै आएको प्रवृत्ति हो ।”

अहिलेको बजार नतिजामा नभई विश्वासमा आधारित रहेकाले लगानीकर्ताले भिडको मनोविज्ञानभन्दा जोखिम व्यवस्थापनमा ध्यान दिन जरुरी हुने उहाँको सुझाव छ ।

बजार बढ्नका लागि आवश्यक अधिकांश पक्ष अनुकूल अवस्थामा रहेको सेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष तारा फुलेल बताउनुभयो । त्यसमा पनि देशभर चुनावी माहोलले लगानीकर्तामा उत्साह बढेको उहाँको बुझाइ छ ।

समयमै चुनाव भएर नयाँ सरकार बने अर्थतन्त्र सही बाटोमा फर्कने र पुँजी बजारले गति लिने लगानीकर्ताको अपेक्षा रहेको उहाँले बताउनु्भयो ।

मङ्गलबार सेयर बजार मापक नेप्से ४२.२६ अङ्कले सुधारिँदा परिसूचक २७१४.८१ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.८२ अङ्क बढेर ४६७.२५ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा तेस्रो दिनको नेप्से १.५८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले बढेको छ ।

तेस्रो दिन ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर एक लाख १५ हजार १८१ पटक खरिद बिव्रmी हुँदा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

prabhu mahalaxmi
kumari