एनआरएनएको १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा एकता भएपछि बसेको स्टेरिङ कमिटीको पहिलो बैठकले आगामी १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ।
आईतबार भर्चुअल रूपमा बसेको बैठकमा अध्यक्षद्वय महेश कुमार श्रेष्ठ र डा. बद्री केसीले सह(अध्यक्षता गरे भने महासचिवद्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले बैठक सञ्चालन गरेका थिए।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बसेको पहिलो बैठकले उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकेको छ।
सात सदस्यीय निर्वाचन समितिमा कार्कीसँगै अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्व क्षेत्रबाट नरेन्द्र भाट र टिबी कार्की रहेका छन्।
बैठकले १२औँ महाधिवेशनलाई लक्षित गर्दै डिसेम्बर ९ देखि एक महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि गरेको छ। सदस्यता खुलाउने कार्यविधि दुई दिनभित्र स्टेरिङ कमिटीमा पेश गर्ने जिम्मा महासचिवद्वय लामा र जोशीलाई दिइएको छ।
एक वा सोभन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरणको जिम्मा त्यही देशका एनसीसी अध्यक्ष र महासचिवलाई दिने निर्णय गरिएको छ।
११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डा. बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन सदस्य रहेका छन्।





























