जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गराउनुपर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालय मार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
२०८२ साउन १४ गते राजपत्रमा प्रकाशित ‘नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्य सहित ३ जनाले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, संघीय संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई विपक्षी बनाइएको छ ।























