stcnepal long ad
ime life insurance
national life
global ime bank long

भुक्तानी सेवा प्रदायकलाई कडाइ, नियम नमान्नेलाई २० लाखसम्मको जरिवानादेखि खारेजीको व्यवस्था

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुका लागि सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गर्दै कडाइ गरेको छ । राष्ट्र बैंकले सोमबार लक्षित वित्तीय प्रतिबन्ध निर्देशिका जारी गर्दै केही कडाइ गरेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) नियमावली २०८१ को परिच्छेद–६ को नियम ६९ को उपनियम (३) मा भए व्यवस्थाअनुसार सो निर्देशिका जारी गरेको उल्लेख गरेको छ ।

निर्देशिका अनुसार अब भुक्तानी सेवा प्रदायकले संयुक्त राष्ट्र संघको सूचीको अटोमेटेड ईमेल सूचना प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ भने गृह मन्त्रालयद्वारा सञ्चालित टीएफएस पोर्टलमा दर्ता गर्ने वा नियमित रूपमा वेबसाइट हेरेर तोकिएका व्यक्तिहरूको सूचीकरण र सूचीबाट हटाउने सम्बन्धी जानकारी प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले लक्षित वित्तीय प्रतिबन्ध व्यक्ति तथा समूहको परिभाषा पनि स्पष्ट गरेको छ । तोकिएको व्यक्ति र प्रतिबन्धित सूची भन्नाले भन्नाले संयुक्त राष्ट्र संघको सूची (यूएन लिस्ट) र गृह मन्त्रालयद्वारा प्रकाशित घरेलु आतंककारी सूचीमा समावेश भएका व्यक्ति, समूह र निकायलाई वित्तीय प्रतिबन्ध व्यक्तिका रूपमा व्याख्या गरेको छ ।

यस्तै, भुक्तानी सेवा प्रदायकहरूले आफ्ना ग्राहकहरू (नयाँ र पुरानो दुवै), कारोबारका पक्षहरू, वास्तविक धनी, निर्देशकहरू र एजेन्टहरूका नामहरू प्रतिबन्धित सूचीसँग मेल खान्छन् कि भनेर दैनिक र निरन्तर जाँच मानव वा स्वचालित प्रणालीबाट गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

ग्राहक अनबोर्डिङ गर्नुअघि र आकस्मिक कारोबार सहजीकरण गर्नुअघि प्रारम्भिक स्क्रिनिङ अनिवार्य गरिएको छ ।

यदि प्रतिबन्धित सूचीमा रहेका व्यक्ति, संस्था वा समूहसँग पूर्ण मिलान भुक्तानी सेवा प्रदायकले तत्काल र पूर्वसूचना बिना ती व्यक्तिको स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका सबै रकम तथा सम्पत्ति रोक्का गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै तोकिएका व्यक्तिलाई कुनै पनि प्रकारको रकम उपलब्ध गराउन वा वित्तीय सेवा वा अन्य सम्बन्धित चेवाहरू प्रदान गर्न पूर्ण निषेध गरिएको छ ।

तोकिएको व्यक्ति र सूचीमा नभएको पक्ष दुवैको स्वामित्वमा सम्पत्ति छ र तोकिएको व्यक्तिको हिस्सा छुट्याउन सकिन्छ भने सो व्यक्तिको हिस्सा मात्र रोक्का गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

कुनै पनि सम्पत्ति रोक्काको उपाय वा तोकिएका व्यक्तिसँगको कारोबारको प्रयास भएमा भुक्तानी सेवा प्रदायकले ३ दिनभित्र नेपाल राष्ट्र बैंकलाई रिपोर्ट गर्नुपर्ने निर्देशिकमा उल्लेख छ ।

राष्ट्र बैंकले यो निर्देशिकाको पालना नगर्ने भुक्तानी सेवा प्रदायकलाई चेतावनी दिनेदेखि लाइसेन्स खारेजीसँगै १० लाखदेखि २० लाख रुपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था पनि गरेको छ ।

यस्तै, सम्पत्ति रोक्का गरिएका व्यक्तिले आफ्नो र परिवारका लागि आधारभूत मानवीय आवश्यकता (दैनिक खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा खर्च, कानुनी शुल्क) पूरा गर्न गृह मन्त्रालयमा निवेदन दिन सक्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।

यद्यपि, संयुक्त राष्ट्र संघको सूचीमा रहेका व्यक्तिको हकमा भने सम्बन्धित युनएससी प्रतिबन्ध समितिले गरेको निर्णयअनुसार रकम फुकुवा हुने उल्लेख छ ।

prabhu mahalaxmi
kumari