जेठ ३० गतेदेखि हिम स्टार ऊर्जा कम्पनीको पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगा जिल्ला, जिजिदेम्बा गाउँपालिका वडा नं ८ (साबिक भुसिंगा गाविसका सबै वडा) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ ९साबिक गोली गाविस वडा नं. १, २, ३, ४, ५० का स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ ।
त्यसैगरी कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार रुपियाँबराबरको ९ लाख ३२ हजार ५०० किता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।
दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।
यता कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।
बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।