विन नेपाल लघुवित्तको एफपीओ शुक्रबारसम्ममा बाँडफाँट गर्ने तयारी

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) यसै साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार अझै केही काम बाँकी रहेकोले शुक्रबारसम्ममा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
अहिले नै मिति यकिन भन्न सकिने अवस्था छैन । यो प्रारम्भिक अनुमान मात्र रहेको बिक्री प्रबन्धकको भनाई छ । यता, विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।
यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।