सेयर बजार फेरि किन घट्यो
काठमाडौं । ट्रेडरहरुले नाफा बुक गरेपछि सोमबार नेप्से सूचक प्रभावित भएको छ । यस दिन नेप्से सूचक ३४.९५ अंकले घटेको छ । यससँगै सूचक २३८६.०१ विन्दुमा आएर अडिएको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार बजार झन्डै सय अंकले बढेको थियो । सोमबार पनि बजार पहिलो सत्रमा दोहोरो अंकले वृद्धि भयो ।
छोटो समयमै यसरी बढेको बजारबाट ट्रेडरहरु प्रोफिट बुक गर्न सक्रिय भएपछि सोमबार नेप्से सूचक घटेको हो । सूचकका साथमा खरिदबिक्री रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । आउने दिनहरुमा बजार क्रमशः सम्हालिंदै जाने लगानीकर्ताहरुको अपेक्षा रहेको छ ।
पछिल्लो समय बजारमा अल्पकालीन कारोबारीको हावी रहेको छ । वित्तीय प्रणालीमा तरलता संकुचनका कारण पनि बजारमा अपेक्षा अनुसार खरिदकर्ता हावी हुन नसकेको अनुमान गरिएको छ ।
तथापि, हाम्रो बजार ९ महिनादेखि बजार समग्रमा करेक्सन फेजमा नै रहेको छ । पछिल्लो समय पनि बजार पुनः घट्दै २३ सय विन्दुभन्दा तल झरेको थियो । यसबीचमा लगानीकर्ताले खरबौं रुपैयाँ गुमाए ।
निरन्तर बजार घटेपछि बजारमा भाउहरु निकै सस्तो भइसकेको छ । ५२ हप्ताकै न्यून विन्दुमा भाउ आइपुगेको छ । यसैगरी, पीई रेसियो हेर्दा पनि धेरैको भाउ २० भन्दा तल आइसकेको अवस्था हो ।
विभिन्न पक्षहरुबाट हेर्दा समग्रमा पुँजी बजारका लागि अहिले सकारात्मक माहोल बनिरहेको पाइन्छ । स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरुको मनोनय दर्ता सुरु भएको छ । यससँगै चुनावी चहलपहल थप बढेको छ ।
चुनावी माहोलमा सेयर बजार सकारात्मक हुने अपेक्षा लगानीकर्ताहरुले गरिरहेका छन् । दल तथा उम्मेदवारले पैसा खर्च गर्ने भएकाले उक्त पैसा बजारमा आउनेछ । यसले तरलता सहज बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । चरम तरलता अभाव र ब्याजदर वृद्धिको अवस्थामा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गर्न सक्ष्म भएका छन् ।
यो पनि सकारात्मक पक्ष हो । यसैगरी, वैशाख दोस्रो चलिरहँदा सरकारी खर्चमा तेजी आउँदै जानेछ । सेयर बजारको सिजन पनि सुरु भएको छ । यी परिदृश्यहरुमा बजारमा क्रमशः सकारात्मक माहोल देखिने लगानीकर्ताहरुको अपेक्षा रहेको छ ।
बिमा कम्पनीहरुको पुँजी वृद्धि हुँदैछ । सबल कम्पनीहरुले हकप्रद र बोनस सेयरबाटै पुँजी वृद्धि गर्ने भएका छन् । यसले पनि ढिलोचाँडो बजारमा सकारात्मक माहोल ल्याउने विश्वास गर्न सकिन्छ ।
बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ ।
सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिन अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
यस्तै, आम लगानीकर्ताले लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि अध्ययन गर्नुपर्ने हुन्छ । ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।
कम्पनीहरुको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ, आरओई लगायतका सूचक पनि ख्याल गर्नुपर्ने हुन्छ । यस दिन २३९ कम्पनीको ५० लाख ४७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
८ करोड ११ लाख रुपैयाँभन्दा धेरैसहित कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट्स र हिमालयन डिष्टिलरी परेका छन् ।