stcnepal long ad
global ime bank long

पुँजी बजार विकासमा सीएनआइ र धितोपत्र बोर्डले सहकार्य गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ) र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजार विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताए ।

अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारमा देखिएको सुधार गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गरे । सेयर कारोबारको समय बढाइएको तथा लगानीकर्ताको हित अनुकूलका व्यवस्थाहरु अघि बढाएकोमा निजी क्षेत्र उत्साहित भएको मोरले बताए ।

यसैगरी, परिसंघले नेपाल सरकारका २ दर्जनभन्दा बढी निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गरे ।

सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पुँजी बजार विकास र सुधारका लागि थप पहलहरु भइरहेको बताए । बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैरआवासीय नेपाली लगायत वैदेशिक पुँजी परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन पनि अध्यक्ष ढुंगानाले आग्रह गरे ।

धितोपत्र बजार मार्फत पुँजी सृजना तथा परिचालनलाई महत्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउनुपर्ने अवस्था छ । उत्पादनमूलक क्षेत्रको थप प्रवेश गराएर सेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकाले परिसंघको सहयोग महत्वपूर्ण रहने पनि अध्यक्ष ढुंगनाले उल्लेख गरे ।

भेटघाट कार्यक्रममा परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा चितवन उद्योग संघको निवर्तमान अध्यक्ष भेषराज दुवाडी सहित परिसंघ अधिकारीहरुको उपस्थिति थियो ।

IME Lifesidebar
kumari