नेप्से ५४ अंकले बढ्यो
काठमाडौं । आइतबार साताको सुरुको दिन शेयर बजारमा उछाल आयो ।
शेयर बजारले पुनः रेकर्ड कायम गरेको छ । नेप्से ५४ अंकले उकालो लागेर ३ हजार ५८ को उचाइ कायम भयो ।
होटल तथा पर्यटन र सामुहिक लगानी कोष सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूहमा आज हरियाली छायो ।कारोबार पनि सुधारिएर सवा १४ अर्ब बराबर पुग्यो ।
लघुवित्त समूहमा सबैभन्दा उच्च ८६ अंकको वृद्धि आयो । वाणिज्य बैंक समूहमा ७२ अंकको उच्च बृद्धि आएसंगै नेप्सेमा उछाल आएको हो ।
उत्पादनमूलक र जलविद्युत समूह पनि दुवै ७१ अंकले उकालो लागे । बीमा, वित्त र विकास बैंक समूह पनि दोहोरो अंकले उक्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ४ करोड ४० लाख कित्ता बराबर शेयर १४ अर्ब २४ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।