सूचीकृत कम्पनीहरुले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउनु पर्ने, नबुझाए जरिवाना हुने
काठमाडौं । धितोपत्र बजार संचालक नेपाल स्टक एक्सचेञ्चले सूचीकृत कम्पनीहरुलाई नवीकरणका लागि शुल्क बुझाउन आग्रह गरेको छ।
एक्सचेञ्जले सार्वजनिक सूचना प्रकाशन गर्दै चालू आर्थिक वर्ष २०८०/८१ का लागी नवीकरण शुल्क भुक्तानी गर्ने अवधि असोज मसान्तसम्म रहेकाले समयमै शुल्क भुक्तानी गरेर धितोपत्र नवीकरण गर्न आग्रह गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसूची ३(क) र (ख) मा भएको प्रावधान बमोजिम आर्थिक वर्ष २०८०/८१ को धितोपत्र नवीकरण गर्ने समयावधि अजोस मसान्तसम्म मात्र रहेको छ।
नेप्सेका अनुसार ५० करोडसम्मको चुक्ता पूँजी भएकोमा नविकरण शुल्क ५० हजार र ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी भएको कम्पनीका लागि १ लाख रुपैयाँ नवीकरण शुल्क लाग्नेछ।
सामूहिक लगानी कोषको नविकरण शुल्क ५० करोडसम्मको २५ हजार र ५० करोड रुपैयाँभन्दा माथिको लागी ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना लाग्ने र विनियमावलीको दफा १६ बमोजिम सूचीकरण स्थगन गरिने जानकारी समेत एक्सचेञ्जले दिएको छ।