युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान
नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ ।
सोही क्षेप्यास्त्रको बारेमा अनुसन्धान जारी रहेकै बेला स्टोलटेन्बर्गले युक्रेनी क्षेप्यास्त्र नै पोल्याण्डमा खसेको हुनुपर्ने जिकीर गर्नुभएको हो ।
उता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने उक्त क्षेप्यास्त्र युक्रेनको नभएको जिकीर गर्दै रुसले नै पोल्याण्डमा प्रहार गरेको दावी गर्नुभयो ।
पोल्याण्डको सीमा क्षेत्रबाट ६ किलोमिटरभित्र खसेको क्षेप्यास्त्रको बारेमा युक्रेनलाई पनि संलग्न गराएर अनुसन्धान गर्नुपर्ने पनि राष्ट्रपति जेलेन्स्कीले माग गर्नुभएको छ ।
रुसले गत मंगलबार युक्रेनमाथि भीषण क्षेप्यास्त्र आक्रमण गर्न थालेको थियो । जसका करण युक्रेनी वायु सेना प्रतिकारमा उत्रिने क्रममा हतारमा वा गल्तीले पोल्याण्डतर्फ क्षेप्यास्त्र प्रहार भएको हुन सक्ने नेटोको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।























