citizens life insurance long ad
stcnepal long ad
national life

बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बिमा कम्पनीहरुले गरेका छन् : अर्थमन्त्री

Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताए । वित्तीय स्थायित्व हुन नसके समग्र आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे ।

उनले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाहरुले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरणमा ल्याउने प्रयास भइरहेको बताए । बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन यतिबेला बिमा संस्थाले गरिरहेका छन् । यसर्थ, बैंकहरु अझ सबल भएर जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ । उनले गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको सरह काम गरिरहेकाले पछिल्ला दिनहरुमा छायाँ बैंकिङ मौलाएको पनि बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताए । उनले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको पनि बताए । रासस
himalayan life insurance
igi long