१८ प्रतिशत भन्दा बढी नाफा नेशनल इन्स्योरेन्स कम्पनीले गर्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १८ प्रतिशत बढी खुद नाफा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ ।
कम्पनीले भदौ १४ गते गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले गत वर्ष चौथो त्रैमाससम्म रू. २० करोड ३५ लाख १० हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिसम्म रू। १७ करोड २१ लाख १० हजार रहेको थियो ।
कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १७ दशमलव ४४ प्रतिशत बढी आम्दानी गरेकाले नाफा बढेको हो । अघिल्लो वर्ष रू। १९ करोड ६२ लाख २२ हजार आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २३ करोड ४ लाख ४९ हजार आम्दानी गरेको हो । नाफा बृद्धि भएको कम्पनीको जगेडा कोष रकम भने रू. ३८ करोड २५ लाख ५९ हजार ऋणात्मक रहेको छ । बीमा कोष रकम भने अघिल्लो वर्षभन्दा १० प्रतिशत बढी रू. १ अर्ब ९ करोड ४५ लाख ८८ हजार पुगेको छ । गत वर्ष कुल बीमाशुल्क आर्जन भने अघिल्लो वर्षभने कम भएको छ ।
अघिल्लो वर्ष सो अवधिसम्म रू. ८४ करोड ८५ लाख ९६ हजार कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष भने रू। ७६ करोड ४३ लाख ४४ हजार मात्र बीमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्ष २१ हजार ५९२ बीमालेख जारी गरेको यो कम्पनीले गत वर्ष भने १६ हजार ११९ बीमालेख मात्र जारी गरेको छ । दाबी भुक्तानी रकम पनि अघिल्लो वर्षभन्दा कम भएको छ ।
अघिल्लो वर्ष १ हजार ४२० जनालाई रू. ८१ करोड ७४ लाख ७३ हजार कुल दाबी भुक्तानी गरेको यस कम्पनीले गत वर्ष २ हजार ७३२ जनालाई रू। ४८ करोड ८९ लाख ५५ हजार कुल दाबी भुक्तानी गरेको हो ।























