विद्यालय तहको पाठ्य पुस्तकमा बिमा सम्बन्धी विषयवस्तु राख्नेबारे छलफल
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षा सम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि पाठ्यपुस्तकमा बिमाको आवश्यकता र महत्त्व सम्बन्धी विषयवस्तु समावेश गरी यसलाई मानवजीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिमाका बारेमा सानैदेखि जागरूक गराउनु आवश्यक छ, मानवजीवन र सम्पत्तिको वित्तीय सुरक्षण बिमाले गर्छ । बिमामार्फत जीवनलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ भन्ने जानकारी हुनु आवश्यक छ । यसले बिमाको दायरा बढाउनुका साथै लागत घट्ने, जोखिम न्यूनीकरण हुने तथा समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय तहको अध्ययनका क्रममा विद्यार्थीले बिमाका बारेमा बुझ्न सकुन् र अध्ययनपश्चात् अरूलाई पनि यसका महत्त्वका बारेमा बुझाउन सकुन् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा यसलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक एवम् सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण तिवारीले सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र तयारीका क्रममा बिमासम्बन्धी विषयवस्तुलाई प्रतिविम्बित गर्न सम्बन्धित पदाधिकारी, विषय विज्ञ र लेखकलाई आग्रह गर्नुभयो ।
विद्यालय तहमा अनिवार्य विषयका रूपमा रहेको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकको परिमार्जन तथा पुनर्लेखनका क्रममा बिमा शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्ने सम्बन्धमा छलफल गरी ठोस् निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा सामाजिक विषयअन्तर्गत कक्षा ४ देखि १२ का प्रस्तावित पाठ्यक्रममा बिमा शिक्षासम्बन्धी सम्भावित विषयवस्तुमाथि विस्तृत छलफल भएको थियो ।





























