राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओको लागि फेरि आवेदन खुल्यो
काठमाडौं । प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदका लागि राष्ट्रिय जीवन बिमा कम्पनीको पुन: आवेदन माग भएको छ । यसभन्दा पहिला आवेदन दिएकामध्येबाट कोहि पनि उम्मेदवार छनोटमा नपरेकाले पुन आवेदन माग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बिहीबार एक सूचना जारी गर्दै रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन भनेको छ ।
उम्मेदबारले व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सीइओ छनोट तथा सिफारिस समितिले यसअघि गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त आह्वान गरेको थियो । तर, सो पदका लागि आवेदन गरेका कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएपछि फेरि आवेदन माग गरेको हो ।
उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ ।