stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारत निर्यात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारत निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन–कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपियाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो ।

सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन ।

काबेली कोरिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति गर्दा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणको दाबी छ ।

यसबाट चालु आर्थिक वर्षमा राखिएको करिब ३० अर्ब रुपियाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपियाँको विद्युत् निर्यात गरिएको थियो ।

गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपियाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

prabhu mahalaxmi
kumari