सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चैत २७ गते २७औँ वार्षिक साधारण सभा
लाभांश पारित र सञ्चालक चयन मुख्य एजेन्डा
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औँ वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ ।
साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभामा स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति समेत अनुमोदन गर्ने एजेन्डा रहेको छ ।
सञ्चालक समितिका संस्थापक शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालक मध्ये कम्पनीको नियमावली अनुसार वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पि.एल.सी बाट स्वतः मनोनयन हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डा समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।
साधारण सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने तथा सो बमोजिम कम्पनीको नियमावलीको नियम ३२ को उपनियम (१) को ख र (घ) संशोधन गर्ने र नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समिति अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजार काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।