नेपाल टेलिकमको उच्चगतिको इन्टरनेट सेवा सुरू
काठमाडौं। नेपाल दुर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सुरू गरेको छ ।
नेपाल टेलिकमले एक सय एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच इन्टरनेट सेवा उपलब्ध गराउदै आएकोमा अब एकैपटक एक हजार क्षमताको एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
यो सेवा पाँच सय एमबिपीएस र एक जिबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध गराउने भएको छ । यसको डाउनस्ट्रिम क्षमता १० जिबीपीएस र अपस्ट्रिम क्षमता २।५ जिबीपीएस हुने बताइएको छ ।
प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ । अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिने भएको छ । यो प्याकमा ०.५ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
प्रिमियम एफटिटीएच एक जिबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न र अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिने जनाइएको छ । यो प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने भएको छ ।
नेपाल टेलिकमको यी दुबै प्याकेजमा एउटा आइपिटीभी, सिपीइ र सेटटप बक्स तथा ३ सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुने बताइएको छ । पाँच सय एमबिपीएसको ‘प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक ८० हजार रूपैयाँ र एक जिबीपीएसको ‘प्रिमियम एफटिटीएच एक जिबीपीएस’ प्याकेज वार्षिक एक लाख १० हजारमा उपलब्ध हुने जनाएको छ ।
यो सेवा वा अन्य एफटिटीएच सेवा प्राप्त गर्न चाहाने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश अनुसार फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मत गर्न सकिने व्यवस्था गरिएको छ ।
हालका काठमाडौँ उपत्यकामा यो सेवा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ । व्यापारिक तथा व्यावसायिक संस्थाहरू यो सेवाबाट बढी लाभान्वित हुने छन।























