विधान संशोधनको प्रस्ताव गर्नै नसक्ने अवस्थामा पुगे अध्यक्ष शेखर गोल्छा
एफएनसीसीआईमा विधान संशोधनको विषय नै बन्द
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को विधान संशोधनको प्रयास करिब–करिब पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ ।
महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य पशुपति मुरारकाको व्यक्तिगत चाहनामा विधान संशोधन गर्ने प्रयास भइरहेको भए पनि पछिल्लो समय उक्त प्रयास विफल प्रायः भएको बताइन्छ ।
विधान संशोधन समितिले तयार पारेको प्रतिवेदन महासंघको पदाधिकारी र कार्यसमिति दुवै बैठकले अस्वीकार गरेपछि मुरारका, शेखर गोल्छा र कुश कुमार जोशीको यो प्रयासमा अब पूर्णविराम लाग्ने भएको छ ।
विधान संशोधन समितिका सहसभापति समेत रहेका मुरारकाले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि ११ महिना लगाएर वरिष्ठ उपाध्यक्षसम्बन्धी साविकको व्यवस्था परिवर्तन गर्ने मस्यौदा तयार पारेका थिए ।
तर, प्रस्ताव पारित गर्ने बैठकहरूमा मस्यौदाको विपक्षमा माहोल सृजना भएपछि उनको स्वार्थपूर्तिमा पूर्णविराम लाग्ने अवस्था आएको छ । त्यतिमात्र होइन उनको लहलहैमा लागेका महासंघका ‘गरिमामय’ अध्यक्ष शेखर गोल्छा समेत पदाधिकारी र कार्यसमितिमा अल्पमतमा परेका छन् ।
महासंघमा हालको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । महासंघ अध्यक्ष शेखर गोल्छा र विशिष्ट सदस्य पशुपति मुरारका भने अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनुपर्ने पक्षमा उभिएका छन् ।
वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई अध्यक्ष बन्न नदिएर महासंघलाई सधैं आफूहरूको कब्जामा राख्ने प्रपञ्च अनुरूप विधान संशोधनको प्रयास स्वरूप मुरारका, गोल्छा र जोशीको षडयन्त्रकारी गठबन्धनले विधान संशोधन सुझाव संकलन गर्न थालेको थियो ।
विधान संशोधनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने प्रावधान हटाउन सकिए अहिले भइरहेका उपाध्यक्षहरूले एक पटक फेरि उपाध्यक्षमै चुनाव लड्नुपर्ने अवस्था सृजना हुन्छ ।
अध्यक्ष हुन चाहने नयाँ अनुहारहरूले पनि उपाध्यक्षमा निर्वाचन लड्नुपर्ने हुन्छ । यसैमा मुरारकाले राजनीति गर्न खोज्दै आएका थिए ।
मुरारका अहिलेको उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ दुबै जनालाई अध्यक्षको दौडबाट पाखा लगाउन पनि खोजिरहेका छन् । तर, उनीहरूले तयार पारेको प्रस्ताव महासंघको पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठकले एकस्वर भएर अस्वीकार गरिदिएका छन् ।
यसअघि पदाधिकारी बैठकले अस्वीकार गरेको संशोधनको प्रस्ताव विधान संशोधन समितिका सहसभापति मुरारकाले सोझै महासंघका अध्यक्ष शेखर गोल्छालाई बुझाएका थिए ।
तर, गत पुस १४ गते बुधबार बसेको महासंघ पदाधिकारी बैठकमा अध्यक्ष गोल्छाले विधान संशोधनको प्रस्तावबारे प्रसङ्ग उठाउन नपाउँदै विरोध भयो ।
विधान संशोधनको ‘च्याप्टर अब क्लोज’ भएको जनाउ दिँदै उपस्थितहरूले अध्यक्ष गोल्छा र सहसभापति मुरारकाको चर्को आलोचना समेत गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन।
महासंघको बहुमत कार्यसमितिले सो मस्यौदा पदाधिकारी बैठकबाट पारित भएर आए मात्रै केन्द्रीय कार्यसमितिमा छलफलको विषय बन्ने बताएका छन् । पदाधिकारी बैठकले अस्वीकार गरेको प्रस्ताव कार्यसमितिमा छलफल हुनै नसक्ने अडान उनीहरूले राखेका छन् ।
यद्यपि, पदाधिकारी बैठकबाट पारित भएर आएको खण्डमा छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक खुला रहेको उनीहरूले बताएका छन् ।
पदाधिकारी बैठकबाट ‘रिजेक्ट’ भइसकेको, कार्यसमितिको बैठकमा प्रवेश नै नगर्न नदिइएको तथा बहुमत पदाधिकारी र कार्यसमिति विधान मस्यौदाको विपक्षमा रहेका कारण अब महासंघको विधान संशोधनको प्रयास हाललाई अन्त्य भएको छ ।
घटनाक्रमसँगै महासंघ पूर्वअध्यक्ष मुरारकारले आफ्नो स्वार्थमा अगाडि बढाएको विधान संसोधन प्रक्रियालाई साथ दिएका कारण पछिल्लो समय अध्यक्ष शेखर गोल्छा पदाधिकारी र कार्यसमितिमा समेत एक्लो बन्दै गएका छन् ।
उनी निर्वाचित हुने बेलामा उनीसँग पर्याप्त बहुमत थियो । तर मुरारकाको कठपुतली बन्दै गएका गोल्छा क्रमशः एक्लो बन्दै गएका हुन् ।
तसर्थ आगामी बैठकहरूमा उनले विधान संशोधनको प्रस्ताव पेश गर्नै नसक्ने अवस्थामा पुगेका छन् । स्मरण रहोस्, पूर्वअध्यक्ष मुरारका र वर्तमान अध्यक्ष शेखर गोल्छा पनि विद्यमान व्यवस्था अनुसार नै स्वतः अध्यक्ष बनेका पात्रहरू हुन् ।
आफू अनुकुल हुँदा सो व्यवस्था ठिक हुने र आफ्नो प्रतिकुल हुँदा व्यवस्था नै बेठिक भनेर यी दुई दरिद्र माडवारी अवसरवादी मानसिकता प्रदर्शन गरिरहेका छन् ।
महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र तीन जना उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई हालको व्यवस्था परिवर्तन नगर्ने पक्षमा उभिएका छन् ।























