पुँजीबजार सुधार र विकासका लागि ‘महासंगठन’ बनाउने घोषणा, नेतृत्व अम्बिका पौडेलले गर्ने
काठमाडौं । नेपाली सेयर बजारमा अहिले विद्यार्थी, शिक्षक, कर्मचारी, साना लगानीकर्ता,अवकास प्राप्त कर्मचारी,वैदेशिक रोजगारी लगायत विविध क्षेत्रका मानिस प्रत्यक्ष रुपमा संलग्न छन्। अहिले आईपीओमात्र हाल्ने लगानीकर्ताको संख्या २५ लाख नाघेको देखिन्छ।
कुनै बेला दैनिक करिव २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको पुँजी बजारमा अहिले कारोबार रकम ३–४ अर्ब रुपैयाँमा खुम्चिएको छ। बढ्दो बजारमा अंकुश लगाउने, अनावश्यक हस्तक्षेप गर्ने, नियामक निकायहरुमा नेतृत्व चयनमा ढिलाइ, नियमनभन्दा नियन्त्रणमुखीजस्ता प्रवृत्तिले आमलगानीकर्तामा पुँजी बजार सरकारको प्राथमिकतामा नपरेको भन्ने बुझाइ रहेको छ।
सरकारलाई पुँजी बजारको महत्वका बारेमा दर्शाउन र देश विकासमा यसको भूमिकाबारे बुझाउन सेयर बजारसँग सम्बन्धित विभिन्न संघ–संगठनका नेतृत्वहरु एकजुट भएर ‘महासंगठन’ बनाउने निर्णय गरेका छन्।
पुँजी बजार सुधार, विकास र विस्तारका लागि गत सोमबार सेयर बजारका अग्रज बादशाह निर्मल प्रधानको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न संघ(संगठनका प्रमुख, सेयर बजारका अग्रजका साथै लगानीकर्तामा एकीकृत भएर कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेका छन्।
अभियानको नेतृत्व बजारका अग्रज लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिका प्रसाद पौडेलले गर्ने निर्णय समेत भएको छ।
उक्त कार्यक्रममा सेयर बजारका अग्रज बादसाह निर्मल प्रधानले नियामकहरुले पुँजी बजारलाई सकारात्मक दृष्टिकोणले नहेरेको र लगानीकर्ताहरु पनि एकजुट भएर अगाडि बढ्न नसकेको बताएका छन।
अब बजार सुधार र विकासका लागि ‘सेयर बजारलाई अहितकार, आगामी चुनावमा बहिष्कार’ जस्ता नाराहरु लिएर सबै संघ(संगठनका प्रमुख साथै लगानीकर्तालाई एकजुट भएर अगाडि बढ्न उनले आह्वानसमेत गरेका छन्।
कार्यक्रममा अम्बिकाप्रसाद पौडेलले सरकार, नियामक निकायका पदाधिकारीलाई बुझाउन नसकेको बताउदै भने– ‘अहिले पुँजी बजारमा बचत गरेर आईपीओमा लगानी गर्ने विद्यार्थीदेखि लिएर विविध क्षेत्रका मानिसहरु छन्। १०० रुपैयाँ आईपीओ लगानी गरेर ५ हजारमा बेच्ने लगानीकर्ता पनि छन्। हामीले सरकार, नियामकलाई अझै पनि पुँजी बजारबारे बुझाउन नै सकेका छैनौ।’
पुँजीबजारको क्षमता विस्तारका लागि अप्सन, फ्युचरजस्ता प्रडक्टहरु पनि सञ्चालनमा ल्याउनुपर्ने कुरामा जोड दिदै लगानीकर्ताका साथै संघ(संगठनका अगुवाहरु पुँजी बजार शुद्धीकरण, मजबुत बनाउन र समग्र पुँजी बजारलाई बचाउन सबै एकीकृत भएर एउटै आवाज उठाउनु पर्ने बताएका थिए।
























