गरगहनाको परिक्षण तालिम समापन
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि ५ दिने तालिम कार्यक्रमको समापन भएको छ ।
प्रमुख अतिथि, भन्सार विभागका महानिर्देशक सुमन दाहालबाट नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताए ।
साथै अत्यन्त छोटो समयको बावजुट पनि यस किसिमको प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरिदिनु भएकोमा प्रशिक्षक तथा महासंघलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रशिक्षार्थी कर्मचारीहरुबाट यस तालिमबाट प्राप्त भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको बताउनुभयो ।
सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भन्सार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताउनु भयो ।
समापन कार्यक्रमा प्रशिक्षार्थीहरुद्वारा उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान पाएको बताउनुभयो ।
समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनु भयो । नियामक निकायमा क्षेत्रगत विज्ञहरु भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास समेत बताए ।

























