युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट आयोजना गर्दै
काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ ।
शुक्रबार परिसंघको युवा उद्यमी मञ्चले पत्रकार सम्मेलन गर्दै पुस ७ गते काठमाडौंमा देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको बताएको हो ।
परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, र मेक इन नेपाल स्वदेशी अभियानको प्रवद्र्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागेको बताउनुभयो ।
उहाँले अहिले युवाहरु निराश रहेको भन्दै युवाहरुको फेस्टिभको रुपमा स्टार्टअपहरुको लागि स्टार्टअप फेस्ट गर्न लागेको बताउनुभयो ।
अध्यक्ष अग्रवालले नेपालमा पनि केही लगानी गर्न सकिन्छ र नेपालमा नै केही गरौं भन्ने युवाहरुलाई सन्देश दिनको लागि मेला आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था सिथिल भएकाले युवाहरुलाई जागरुप बनाउने सहि समय भएको बताउनुभयो ।
अध्यक्ष अग्रवालले युवाहरुलाई उद्यमसँग जोडेर उद्यमी बनाउने उदेश्यले परिसंघले यस्तो आयोजना गरिएको बताउनुभयो । उहाँले अग्रवालले सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ले अर्थतन्त्र चलायमान बनाउनको लागि पनि सहयोग पुग्ने बताउनुभयो ।
स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौति लगानीको रहँदै आएकाले नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । मेलामा नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिने छ ।
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् ।
त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रश्तुतीकरणको अवसर प्रदान गरिने छ ।
फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएको आयोजकले जनाएको छ ।