prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

फागुनमा तेह्र अर्बले बढ्यो आयात

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । पछिल्ला महिना घट्दो क्रममा रहेको आयात फागुनमा भने उकालो लागेको छ । भन्सार विभागका अनुसार फागुनमा करिब १३ अर्ब रुपियाँले आयात बढेको छ ।

माघमा एक खर्ब २६ अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएकामा फागुनमा एक खर्ब ३९ अर्ब २२ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।

विदेशी मुद्राको सञ्चिति खस्किँदै गएपछि गत वैशाखदेखि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण आयात व्यापार घट्दो क्रममा थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार भएपछि पुसदेखि प्रतिबन्ध फुकुवा गरिएकामा त्यसको दुई महिनापछि आयात बढेको हो ।

पुसमा नेपालले एक खर्ब २७ अर्ब ९१ करोड रुपियाँको वस्तु आयात गरेको थियो । भदौमा सबभन्दा धेरै अर्थात् एक खर्ब ४२ अर्ब ३१ करोड रुपियाँको वस्तु आयात भएको थियो । त्यसयता फागुनमै सबभन्दा धेरै आयात भएको हो ।

आठ महिनासम्मको समग्र आयात भने गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष फागुनसम्म १३ खर्ब आठ अर्ब रुपियाँको वस्तु आयात भएकामा यस वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब रुपियाँको मात्र वस्तु आयात भएको तथ्याङ्क छ ।

फागुनसम्म नेपालले सबभन्दा धेरै ९८ अर्ब ९५ करोड रुपियाँको डिजेल आयात गरेको छ । त्यसपछि ४४ अर्ब १५ करोड रुपियाँको पेट्रोल, ३८ अर्ब ७२ करोड रुपियाँको एलपी ग्यास, २७ अर्ब ६७ करोड रुपियाँको कच्चा पाम तेल, २६ अर्ब ७० करोड रुपियाँको फलामजन्य सामानको आयात भएको छ ।

एक खर्ब नाघ्यो निर्यात

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको निर्यात एक खर्ब नाघेको छ । विभागका अनुसार आठ महिनामा एक खर्ब चार अर्ब रुपियाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको हो । यद्यपि अहिलेसम्मको कुल निर्यात डिजेल आयातका लागि मात्र पर्याप्त छ ।

समीक्षा अवधिमा सबभन्दा धेरै १३ अर्ब रुपियाँ बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यसपछि आठ अर्ब ३७ करोड रुपियाँको भटमास तेल, पाँच अर्ब ८४ करोड रुपियाँको अलैँची, चार अर्ब ६० करोड रुपियाँको गलैँचा र दुई अर्ब ६९ करोड रुपियाँको जुस निर्यात भएको देखिन्छ ।

दुई खर्बले घट्यो व्यापार घाटा

समग्र आयात घट्दा मुलुकको व्यापार घाटा पनि खुम्चिएको छ । भन्सार विभागका अनुसार फागुनसम्म मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा दुई खर्ब सात अर्ब रुपियाँले घटेर नौ खर्ब ५३ अर्ब रुपियाँ पुगेको छ । गत वर्ष फागुनसम्म व्यापार घाटा करिब ११ खर्ब ६१ अर्ब रुपियाँ पुगेको थियो ।

मुलुकको सबभन्दा धेरै व्यापार घाटा सदाझैँ भारतसँग नै रहेको छ । तथ्याङ्कअनुसार भारतसँग नेपालको व्यापार घाटा पाँच खर्ब ८२ अर्ब रुपियाँ पुगेको छ । त्यसपछि चीनसँग यस्तो घाटा एक खर्ब ४५ नाघेको छ । नेपालको ठूलो व्यापारिक साझेदारका रूपमा उदाएको इन्डोनेसियासँग ३० अर्ब १७ करोड रुपियाँको व्यापार घाटा रहेको छ ।

सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा रहेको भारतबाट छ खर्ब ५६ अर्ब ८० करोड रुपियाँको वस्तु आयात हुँदा नेपालबाट ७४ अर्ब २१ करोड रुपियाँको वस्तु निर्यात भएको छ । चीनबाट एक खर्ब ४५  अर्ब रुपियाँको वस्तु आयात हुँदा ५१ करोड ९३ लाख रुपियाँको मात्र वस्तु निर्यात भएको छ ।

९ चैत २०७९, बिहीवार ०८:४३ बजे प्रकाशित

NTA long ad
stcnepal long ad