stcnepal long ad
global ime bank long

प्रशोधित खाने तेलले बढायो निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा निर्यात ६५ प्रतिशतले बढेर झन्डै दुई खर्बनजिक पुगेको छ । प्रशोधित खाने तेलले निर्यात बढाएको हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको रहेको छ ।

कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ । विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपियाँ बराबरको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ ।

त्यस्तै १७ अर्ब ४६ करोड रुपियाँको धागो, ११ अर्ब ९५ करोड रुपियाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपियाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएका छन् । यस्तै नौ अर्ब ३० करोड रुपियाँको गलैँचा, छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपियाँको अलैँची निर्यात भएको छ ।

अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भारतमा भन्सार छुटमा निर्यात हुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । व्यापार विज्ञ रविशङ्कर सैजुले साउथ एसिन ट्रेड एग्रिमेन्ट (साफ्टा) को सुविधा प्रयोग गरेर खाने तेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो ।

साफ्टाको सुविधा प्रयोग गरेर नेपालबाट तेल निर्यात गर्दा शुल्क नलाग्ने हुँदा निर्यातमा उलेख्य वृद्धि भएको उहाँको भनाइ छ । “अहिले व्यवसायीले खुला तेल नै ल्याएर प्याकेजिङ गरेर निर्यात गर्ने हुँदा व्यवसायीलाई मात्र नाफा हुने गरेको छ,” उहाँले भन्नुभयो, “दाना ल्याएर प्रशोधन गरेर पठाउँदा दीर्घकालीन रूपमा निर्यात हुनका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना हुन्छ ।”

तेह्र खर्बको आयात

यस्तै नौ महिनाको अवधिमा आयात १२.१८ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपियाँ रहेको थियो ।

आयातको अनुपातमा निर्यात न्यून हुँदा व्यापारघाटा ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रहेको थियो । कुल वैदेशिक व्यापार १६.८९ प्रतिशितले बढेर १४ खर्ब ९७ अर्ब ७७ करोड २७ लाख रुपियाँ पुगेको छ ।

नौ महिनामा मुलुकमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । जस अनुसार ९१ अर्ब २६ करोड रुपियाँ १० लाख १३ हजार ३७५ किलोलिटर डिजेल, ४७ अर्ब ७७ करोड रुपियाँको पाँच लाख ४७ हजार ५७४ किलोलिटर पेट्रोल, खाना पकाउने एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपियाँको चार लाख १० हजार ५९३ मेट्रिक टन आयात भएको छ ।

यस्तै १४ अर्ब ६४ करोड १४ लाख रुपियाँ बराबरको एक लाख ६० हजार २१३ किलोलिटर हवाई इन्धन आयात भएको छ । २५ अर्ब रुपियाँको स्मार्ट फोन आयात भएको छ । २२ अर्ब ६४ करोड ६१ लाख रुपियाँको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ ।

यस्तै ६६ अर्ब ५६ करोड ५५ लाख रुपियाँको भटभासको कच्चा पदार्थ आयात भएको छ । १६ अर्ब तीन करोड रुपियाँको सुन आयात भएको पनि तथ्याङ्कले देखाएको छ ।

नौ महिनामा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट सात खर्ब ८५ अर्ब ७४ करोड ५० लाख रुपियाँको आयात  हुँदा  नेपालबाट एक खर्ब ४९ अर्ब ९८ करोड १२ लाख रुपियाँको निर्यात भएको छ । आयात ठुलो परिमाणमा भए पनि निर्यात न्यून हुँदा भारतसँग व्यापारघाटा छ खर्ब ३५ अर्ब ७६ करोड ३७ लाख रुपियाँ रहेको छ ।

चीनबाट दुई खर्ब ४७ अर्ब ९० करोड ८० लाख रुपियाँको आयात हुँदा दुई अर्ब २५ करोड ५६ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग दुई खर्ब ४५ अर्ब ६५ करोड २३ लाख रुपियाँ व्यापार घाटा रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari