stcnepal long ad
global ime bank long

गत साउनमा मात्रै ५७ हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात

हालसम्मकै बढी ग्यास आयात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

वीरगन्ज । गत साउनमा मात्रै ५७ हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल  निगमका अनुसार  पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो ।

निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियो ।

निगमका निर्देशक विनीतमणि उपाध्यायका अनुसार साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिन्डर बिक्रीवितरण भएको छ ।

असारको तुलनामा साउनमा करिब नौ लाख सिलिन्डर ग्यास बढी बिक्री भएको छ । एलपी ग्यासको आयात तथा बिक्रीवितरण आगामी दिनमा पनि निरन्तर हुँदै जाने उल्लेख गर्दै निर्देशक उपाध्यायले आवश्यकता अनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।

यसैबिच वीरगन्ज नाका भएर मात्र साउनमा ग्यास बोकेका एक हजार ६२२ बुलेट भित्रिएका छन् । २०८२ सालको साउनमा उक्त नाका भएर एक हजार २८७ ग्यास बुलेट भित्रिएका थिए भने २०८३ साउनमा ३३५ बुलेट बढी बुलेट भित्रिएका हुन् ।

नेपाल आयल निगमको वीरगन्ज कार्यालयका अनुसार १८ तथा २१ टन ग्यास बोकेर भित्रिएका ती बुलेटबाट दुई करोड ९९ लाख ८३ हजार ७५० किलोग्राम ग्यास भित्रिएको छ । भित्रिएको उक्त परिमाणबाट २१ लाख ११ हजार ५३१ सिलिन्डर भर्न सकिने कार्यालयका वरिष्ठ सहायक सञ्जयकुमार यादवले जानकारी दिनुभयो ।

नेपाल आयल निगमको वीरगन्ज कार्यालयका प्रमुख मोहनप्रसाद साहले मुलुकको झन्डै ६० प्रतिशत खाना पकाउने ग्यास भित्रिने वीरगन्ज नाकाबाट निर्बाध रूपमा ग्यास बोकेका बुलेट भित्रिइरहेको बताउनुभयो । नेपाल आयल निगमको वीरगन्ज कार्यालयका अनुसार पूरा सिलिन्डर ग्यास दिन थालिएपछि असारमा वीरगन्ज नाका भएर एक हजार ४२९ ग्यास बुलेट भित्रिएका थिए । त्यसअघि आधा सिलिन्डर ग्यास वितरण गरिँदा जेठमा ९३४ र वैशाखमा ९७४ बुलेट भित्रिएका थिए ।

आधा सिलिन्डर ग्यास बाँडिन थालेपछि सर्वसाधारणले घरमा रहेका ग्यास सिलिन्डरको सङ्ख्या बढाएका र पूरा सिलिन्डर आएपछि भएका सबै सिलिन्डर भरेर राख्न खोजेपछि बजारमा अभाव सिर्जना भएको प्रमुख साहले दाबी गर्नुभयो ।

साउनमा वीरगन्ज नाका भएर नेपाल ग्यास उद्योग प्रा.लि.ले सबैभन्दा बढी १२९ बुलेट भिœयाएको छ भने सगरमाथा ग्यास इन्डट्रिज प्रालिले ११७, नोबेल ग्यास उद्योग प्रालिले ९०, बाबा ग्यास उद्योग प्रालिले ८१, जानकी ग्यास उद्योगले ७९ र एभरेस्ट ग्यास उद्योगले ७० बुलेट भित्रायाएका हुन् ।

कार्यालयका प्रमुख साहले भारतको दुर्गापुर, हल्दिया, बरौनी र परादीपमा रहेका रिफाइनरीबाट ग्यास भरेर बुलेटहरू वीरगन्ज नाका भएर नेपाल भित्रिने गरेको बताउनुभयो । आगलगी भएपछि असार २६ गतेदेखि दुर्गापुर र हल्दिया रिफाइनरीबाट ग्यास आउन छाडेको उहाँले बताउनुभयो ।

IME Lifesidebar
kumari