आज एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज फागुन ३ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
सो मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
सीडीएसका अनुसार फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको छ ।
यो मागभन्दा २१.०५७ गुणा बढी आवेदन हो । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ ।
केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ ।






















