राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओ बिक्री खुला
स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याए
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आज असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो ।
कम्पनीले यस अघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो ।
यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म सेयर भर्न सक्ने कम्पनीको भनाई छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

























