चैत ११ गते नेसनल हाइड्रोपावरको स्थगित साधारण सभा हुने
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीको फागुन ३० गते स्थगित भएको साधारण सभा अब चैत ११ गते हुने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पेश गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
यता, नेसनलले सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर पनि गर्ने भएको छ । सुनकोशीलाई १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । जस अनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेसनलको २५ कित्ता सेयर पाउने छन् । सभामार्फत एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोन गर्ने प्रस्ताव छ ।
यस्तै, साधारणसभा मार्फत ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ ।
फागुन १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछ । सोमबार गणपूरक संख्या (कोरम) नपुगेपछि कम्पनीको सभा स्थगित गरिएको थियो ।

























