ग्लोबल आइएमई क्यापिटललाई मध्य भोटेकोशी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । ग्लोबल आइएमई क्यापिटललाई मध्य भोटेकोशी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमानियुक्त गरेको छ । सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब मध्य भोटेकोशीको सेयर सम्बन्धी सम्पुर्ण कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
सो सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटल बिच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सो सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रुपैयाँ तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ ।
सर्वसाधारण समुहतर्फ छुट्टयाइएको ४९ प्रतिशत सेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेड र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत सेयर यसअघि नै निष्कासन गरी २०७५ पुस ५ गतेमा बाँडफाँट गरिसकिएको छ ।
बाँकी २५ प्रतिशत सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरि सकिएको छ ।























