एनआरएन इन्फ्रास्टक्चरको आइपीओ बाँडफाँट
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यो आइपीओमा ३ लाख २० हजार ६१४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय पुतलिसडक काठमाडौंमा बिहान ९ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।
यसमा कुल १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । ४ लाख १८ हजार ९१८ जनाले १ करोड ५३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । जसमा भेरीफाइ गर्दा ४ लाख १७ हजार ९५८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले साउन १६ गतेबाट २१ ग्तेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५५ अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
यसैगरी, २५ अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो ।
जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।
कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८।१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।































