एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा आज आवेदन दिने अन्तिम दिन
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज साउन २१ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ३ लाख ३४ हजार २९२ जनाले १ करोड ४० लाख ५३ हजार ७६० कित्ताका लागि आवेदन दिइसकेका छन् । १ अर्ब ४० करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा ४।४४ गुणा बढी आवेदन परिसकेको देखिन्छ ।
यस कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५५ अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसैगरी, २५ अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका अलावा मेरोसयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो ।
जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।
कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।





















