खुल्यो शिखर इन्सुरेन्सको लिलामी सेयर
काठमाडौं । शिखर इन्सुरेन्सको आज साउन २१ गते बुधबारबाट सर्वसाधारण समूहको ८७ हजार ४१२।८ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको छ । यसअघि शिखरले असार १४ गतेबाट साउन ४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
ग्रीन डेभलपमेन्ट बैंक हरिशंकर रोड बाग्लुङबाट पनि आवेदन दिन पाइनेछ । हाल शिखरको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०५ हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।






























