stcnepal long ad
ime life insurance
national life
global ime bank long

तनहुँ जलविद्युत् आयोजनाको बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

मनसुन अगावै सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर बाँध निर्माण थालिएको थियो ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको थियो ।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनले भने, “मनसुन सुरु हुनुभन्दा पहिले नै बाँध निर्माण सक्ने गरी काम अगाडि बढाइएकामा लक्ष्य बमोजिम नै जग खन्ने काम सम्पन्न भएको छ ।”

आयोजनाको मुख्य निर्माणलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज १ को हालसम्मको प्रगति ३३ दशमलव दुई प्रतिशत भएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानीकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ ।

यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ । आयोजनाको तेस्रो प्याकेजको रुपमा रहेको प्रसारण लाइन निर्माण हालसम्म ७३ दशमलव दुई प्रतिशत सकिएको छ । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म रहेको छ ।

भारतीय कम्पनी केइसी इन्टरनेसनलले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ ।

दमौली–भरतपुर २२० केभी ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरहरुको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

IME Lifesidebar
kumari