५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति, कुल निर्यात स्वीकृति ११९८ मेगावाट पुग्यो
काठमाडौं । नेपालले मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति पाएको छ । कुल निर्यात स्वीकृति ११९८ मेगावाट पुगेको हो ।
नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त गरेको हो । भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्ने अनुमति पाएको हो ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाहरूको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न १८ नोभेम्बर २०२६ अनुमति दिएको हो । योसँगै नेपालबाट भारततर्फ निर्यातका लागि स्वीकृत कुल विद्युतको परिमाण ११९८ मेगावाट पुगेको छ ।
नयाँ अनुमति अनुसार ५९४ मेगावाट विद्युत् १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मंसिर २०८३ देखि ३१ जेठ २०८४) सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।
अनुमतिप्राप्त परिमाण मध्ये २०५ मेगावाट विद्युत् कटैया–कुशाहा, रामनगर–सुरजपुर रहेको छ । रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आईएक्समा बिक्री गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको हो ।
यो द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ ।
चालु वर्षका लागि सम्झौता अनुसार विद्युत् निर्यात गर्ने अवधि गत ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।
मध्यकालीन सम्झौता अन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि माग गरेको थियो ।
प्राधिकरणले निर्यात योग्य आयोजनाहरूको सूची अवधि समाप्त हुनुअघि नै भारतीय निकायमा पेस गरेको थियो ।
सोही प्रक्रिया र निरन्तरको पहलपछि हाल एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि पनि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित उक्त विद्युत् २ मंसिर २०८३ देखि १५ भदौ २०८४ (१८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७) सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।
प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ भने, द्विपक्षीय मध्यकालीन सम्झौता अनुसार भारतका हरियाणा र बिहारका साथै बंगलादेशमा समेत विद्युत् निर्यात गर्दै आएको छ ।
























