आज मंसिर २८ गतेदेखि अन्नपूर्ण होटलमा हस्तकला मेला सुरू
काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ आज २०८० मंसिर २८ गते ११ बजेबाट सुरू हुँदैछ। नेपाल हस्तकला महासंघले वर्षेनि आयोजना गर्दै आएको मेला आज मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने मेला राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्दैछन ।
महासंघका अनुसार हस्तकला मेलाको यो २० औँ संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औँ संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरूको स्वदेशी तथा अन्तरर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले वर्षेनि यो मेला आयोजना गर्दैै आएको छ ।
मेलामा हस्तकलाका वस्तुहरूको करिब १२५ वटा स्टलहरू रहने आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ । मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिनेछन् ।
भारत, चीन, पाकिस्तान, बंगलादेश लगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ । व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघ र वस्तुगत संघ समेतको सहभागिता रहने बताइएको छ ।
महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवम् ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा रहने छन ।
मेलाको प्रमुख आकर्षणको रूपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट घोषित तीन जना कलाकारहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने महासंघले जनाएको छ ।
मेलाको अवसरमा आर्थिक वर्ष २०७९र८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुरयाउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने बताइएको छ ।
मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरूलाई चाँदीको फ्रेमसहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
यस्तै, हस्तकलाका विविध विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार व्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट कला प्रदर्शनी २०८० आयोजना गरिनेछ ।
एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत् प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणाअनुरूप वस्तुहरूको प्रदर्शन हुने आयोजकको भनाइ रहेको छ ।
यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर गर्ने मेलाको लक्ष्य छ ।
मेलाबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवम् साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्न महासंघ अध्यक्ष शाक्य बताउँछन् ।
महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरू वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।
स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेको महासंघका अध्यक्ष शाक्यले बताएका छन।























