नेपाल राष्ट्र बैंकबाट नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालनका लागि एनसीएचएललाई अन्तिम स्वीकृति
हाल उक्त स्विचमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याइने एनसीएचएलले जनाएको छ।
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्विच सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ ।
राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात एनसीएचएललाई उक्त स्वीकृति प्रदान गरेको छ। हाल उक्त स्विचमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याइने एनसीएचएलले जनाएको छ।
विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआर लगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तर आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन नेसनल पेमेन्ट स्विचको स्थापना गर्ने कार्य अघि बढाउन अघिल्लो आर्थिक बर्षमा एनसीएचएललाई स्वीकृति प्रदान गरिएको जनाएको छ।
उक्त नेसनल पेमेन्ट स्विच एनसीएचएलले दुई चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ। पहिलो चरणमा कार्डबाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्यूआर लगायतका भुक्तानीहरुका लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको एनसीएचएलले जनाएको छ ।
दोस्रो चरणमा कार्डका लागि नेसनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डका लागि आवश्यक कार्य अघि बढाइएको एनसीएचएलले जनाएको छ।
नेसनल पेमेन्ट स्विच सञ्चालनमा आए पश्चात राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्यान्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिनेछ। जस अन्तर्गत उक्त स्ट्यान्डर्डको नेपाल पे क्यूआर लागू हुने छ भने नेपालभित्र रहेका क्यूआरबीच समेत अन्तर आबद्धता कायम गर्न सकिने छ।
सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्विचमार्फत कारोबार र यसको फरछ्यौट गर्न सकिने जनाइएको छ।
वालेट–वालेटबीचको अन्तर आबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्सफर गर्ने लगायतका भुक्तानी गर्न सकिने छ ।
त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टु–पेअन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउनेछन्। हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएल मार्फत गर्न सकिने जनाइएको छ।
नेसनल पेमेन्ट स्विचमा आबद्ध हुन तथा सोका लागि तयारी गर्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ ।
यसका साथै उक्त पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक तथा वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सीधै उक्त रिटेल पेमेन्ट स्विचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ।
यसले नेसनल पेमेन्ट स्विच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबार सम्बन्धी डाटा नेपालभित्रै राख्न र ग्राहकलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने एनसीएचएलले जनाएको छ।






















