विवेकशील साझा विवाद– धमाधम राजीनामा दिँदै नेता,कार्यकर्ता
काठमाडौं। पार्टी अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रस्तावका कारण विभाजनको संघारमा पुगेको विवेकशील साझा पार्टीमा पछिल्लो समय नेतारकार्यकर्ताहरूले राजीनामा दिने ‘लहर चलेको छ। अध्यक्ष मिश्रले राजतन्त्रको पक्षपोषण गर्ने, संघीयता विरोधी र धार्मिक द्वन्द्व फैलाउने अजेण्डा बोकेको भन्दै विवेकशील साझा भित्र विवाद चुलिएको हो
मिश्रले हस्ताक्षर किर्ते गरेर केन्द्रीय समितिबाट आफ्नो राजनीतिक दस्ताबेज र संशोधित विधान पारित गरेको पनि अरु नेताहरुले आरोप लगाएका छन्।
केन्द्रीय समिति बैठकमा उपस्थित भएको आधारमा दस्ताबेज र विधान संशोधन प्रस्ताव पारित गर्ने निर्णयमा हस्ताक्षर नै नगरी दिब्येश गिरि, दीपा अर्याल लगायत केन्द्रीय सदस्यहरूको नाम उल्लेख गरी निर्वाचन आयोगमा पठाइएको मिश्रमाथि आरोप लागेको छ।
आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै केही केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिमा इमेल मार्फत् विरोध समेत जनाएका छन्। यस्तै, पार्टीका संयोजक मिलन पाण्डे पक्ष रवीन्द्र मिश्र पक्षविरुद्ध अदालत जाने तयारीमा छ।
सचिवालयमा रहेका २६ जना सदस्यमध्ये ११ जना संयोजक पाण्डेलाई साथ दिँदै आइरहेका छन्। प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश २ का संयोजक अनिमेष मिश्र, बागमती प्रदेश संयोजक रञ्जु दर्शना, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, डा राजेन्द्र पङ्गेनी, डा अनुसा थापा, आशुतोष तिवारी, प्रतिभा डङ्गोल, पुकार बम सहित ११ जना पाण्डे पक्षमा छन्।
सचिवालय बाहिरबाट अन्तर्राष्ट्रिय समिति संयोजक सुरेश भट्टसहित पनि मिश्रको प्रस्तावको विपक्षमा छन्। बागमती र गण्डकीसहित ४ वटा प्रदेश समितिका संयोजकहरु मिश्रको विपक्षमा रहेका जनाइएको छ।
सचिवालय सदस्यहरू प्रकाश चन्द्र परियार, शोभा शाक्य, निरुपमा यादव, प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठ लगायतले नेताहरुले पनि मिश्रका पछिल्ला गतिविधको विरोध गर्न थालेको पाण्डे पक्षका नेताहरुको भनाइ छ।
अध्यक्ष मिश्रका पछिल्ला गतिविधिले पार्टी कमिटीमा रहेर काम गर्ने वातावरण नभएको भन्दै आइतबार मात्रै १२ जना नेताहरुले पदबाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्यहरु दीपक पौडेल र प्रकाश आचार्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका हुन्।
पार्टीको अन्तर्राष्ट्रिय समितिका पूर्वसंयोजक राजेन्द्र पंगेनी, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, प्रदेश २ संयोजक अनिमेश कुमार मिश्र, अर्थ विभाग प्रमुख दिब्येश गिरि, अन्तर्राष्ट्रिय समितिका प्रवक्ता विष्णु जोशी, स्विडेनका संयोजक दीप थापा लगायतले पनि केहि दिन अघि राजीनामा दिएका थिए।
मिश्रले तत्काली साझा पार्टी गठन गर्दा र पछि विवेकशील पार्टीसँग एकता गर्दा महत्वपूर्ण जिम्मेवारीमा रहेका धेरै नेताले यसअघि नै पार्टी परित्याग गरिसकेका छन्।
रेशु अर्याल, ओम अर्याल, डा। सरोज धिताल, डा. दिनेश प्रसाईँ, उज्वल थापा(दिवंगत) लगायत १६ जना केन्द्रीयले केही वर्ष अगाडि नै मिश्रको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी छाडेका थिए।
यस्तै, डा सूर्यराज आचार्य, मुमाराम खनाल लगायतसँग ४५ जना नेताहरुले पार्टी परित्याग गरेका थिए। अझै करिब ४५ जना केन्द्रीय सदस्य, ४ प्रदेश संयोजक, अधिकांश जिल्ला संयोजकहरूले पनि पार्टी छोड्ने तयारी गरेका विवेकशील साझा स्रोतले जानकारी दिएको छ।






















