भोली शुक्रबार सानिमा जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट हुँदै
काठमाडौं । सानिमा जनरल इन्सुरेन्सको आइपीओ भोली शुक्रबार असोज ३० गते बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलका अनुसार आफ्नै कार्यालय बबरमहल काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको जनाएको छ ।
कम्पनीको आइपीओ प्री–अलोटमेन्ट भइसकेको बिक्री प्रकन्धकले जानकारी दिएको छ । सेयर पाउन भाग्यकै भर पर्नु पर्नेछ । गोलाप्रथाबाट लक्की हुनेले सेयर पाउने छन् ।
कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो ।
बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
जसमा ८ लाख ८३ हजार ६२४ जनाले १ करोड ९० लाख १२ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परको छ ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ६।९४ गुणा बढी आवेदन हो ।
यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।



























