कच्चा तेलको मूल्य घटन थाल्यो
काठमाडौं । गत शुक्रबारअन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड)को मूल्य ०.८ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.२० डलर भएको छ। यो साता समग्रमा ब्रेन्ट क्रुडको मूल्य १२.७ प्रतिशतले घटेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) को मूल्य १.३ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.५७ डलर कायम भएको छ।
डब्लुटीआईका लागि यो गिरावट सन् २०२० को कोरोना महामारीपछिकै सबैभन्दा ठुलो साप्ताहिक गिरावट हो। मध्यपुर्वको द्वन्द्व अगाडि कच्चा तेलको मूल्य ६०/६५ अमेरिकी डलरको हाराहारीमा थियो। द्वन्द्वपछि बढेर १०५ अमेरिकी डलरसम्म पुग्यो। मध्यपुर्वमा स्थायी शान्ति कायम भयो भने त्यो मूल्य दुई( तीन महिनामा घटेर ६५/७० डलरमा आउन सक्ने सम्भावना पनि छ।
द्वन्द्व अस्थायी रूपमा बन्द भएर मूल्यमा कमी आए पनि बजारमा आपूर्तिलाई लिएर अझै चिन्ता कायम रहेकाले सोचे जस्तो मूल्य घटन सकेको छैन। मध्यपुर्वको द्वन्द्वले तेल उत्पादन केन्द्रका पुर्वाधारमा आक्रमण भएकाले तिनको उत्पादनमा असर परेको छ।
उत्पादन केन्द्रहरूको मर्मत गरेर तेल उत्पादन गर्न महिनौ समय लाग्ने बताइएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुजमार्गबाट हुने तेलको ढुवानी अझै ९० प्रतिशतभन्दा बढीले अवरुद्ध छ। इरानले आफ्नो क्षेत्रीय जलक्षेत्रमा मात्र जहाजहरू चलाउन चेतावनी दिएका कारण विश्वकै महत्त्वपूर्ण मानिने यो मार्गबाट हुने आपूर्ति सामान्य अवस्थामा आउन अझै समय लाग्छ।
अर्कोतिर इरानले युद्व विरामलाई अझै मानिसकेको वा पालना गरिसकेको अवस्था छैन। इरानले शान्ति सम्झौतापछि जलमार्गबाट पार हुने जहाजहरूसँग शुल्क लिने प्रस्ताव अघि सारेको छ, जसमा पश्चिमा राष्ट्र र संयुक्त राष्ट्रसंघले आपत्ति जनाएका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण मध्यपूर्वका ऊर्जा पूर्वाधारमा ठुलो क्षति पुगेको छ। ६० भन्दा बढी ऊर्जा केन्द्रहरू ड्रोन र मिसाइल आक्रमणको निशानामा परेका छन्।
मध्यपूर्वका उत्पादकहरूले मार्चमा दैनिक ७५ लाख ब्यारेल तेल उत्पादन कटौती गरेका थिए भने अप्रिलमा यो संख्या ९१ लाख ब्यारेल पुग्ने अनुमान गरिएको छ। यसले गर्दा यो वर्ष विश्व बजारमा तेलको अभाव हुन सक्ने विश्लेषकहरूको ठम्याइ रहेको छ।
यसैबीच, साउदी अरबको तेल उत्पादन क्षमतामा दैनिक ६ लाख ब्यारेलले कमी आएको छ भने उसको पूर्व–पश्चिम पाइपलाइनको ढुवानीमा पनि ठुलो गिरावट देखिएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रतिबन्धित रुसी तेल खरिद गर्न दिइएको छुटलाई निरन्तरता दिने तयारी गरेको छ।
यसले निरन्तरता पायो भने कच्चा तेलको आपूर्तिमा केही सहजता हुनेछ। पश्चिम एसियाका उत्पादकहरूले भने जलमार्ग खुल्ने प्रतीक्षा गर्दै एसियाली रिफाइनरीहरूसँग तेल लोड गर्ने तयारीका बारेमा छलफल सुरु गरिसकेका छन्।
पाकिस्तान र वासिङ्टनमा हुन लागेको आगामी वार्ताले युद्धविरामलाई स्थायी रूप दिएमा तेलको मूल्य थप स्थिर हुने अपेक्षा गरिएको छ।


























