हेटौंडामा पत्रकारको राष्ट्रिय भेला हुने
काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा साउन ८ गते बसेको महासंघ केन्द्रीय समितिको दसौं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल गरी निर्णय गरेको छ ।
महासंघका अनुसार कोरोना महामारीका कारण २०७७ वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगित भएको सन्दर्भमा महासंघको सांगठनिक गतिविधि प्रभावित भई २६औं महाधिवेशनको मिति तय गर्न समेत कठिनाई उत्पन्न भएकाले ती गतिविधिहरुका बारेमा निर्णय लिन आगामी भदौ २–३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेकाे छ।
लकडाउनका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको महासंघको नयाँ सदस्यता सिफारिस र सदस्यता नवीकरणको म्याद साउन मसान्तसम्म थप्ने निर्णय गरेकाे छ।
कोरोना माहामारीको कारण देखाउँदै सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त बनाई परिणाममूखी बनाउने निर्णय समेत गरेकाे छ ।
यस्तै निरन्तर पाँच वर्ष एउटै सञ्चार माध्यममा कार्यरत स्ट्रिन्जरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार गृहहरुलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनि दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ ।
कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासंघको मिसन सबै प्रदेशहरुमा परिचालित हुने निर्णय भएको छ ।
महासंघले स्थापना गरेको एक करोड रुपैया बराबरको आपतकालिन कोषमा महासंघ केन्द्रका तर्फबाट तीस लाख र महासंघ बेलायत शाखाबाट बीस लाख जम्मा भइसकेकाे छ।
यस कोषमा स्वैच्छिक योगदान गर्न चाहने महासंघका शाखाहरु र सरोकारवालाहरुलाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय समेत गरेकाे छ ।
महासंघले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
गत २०७६ भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनसमेत नेपाल सरकारसँग माग गर्ने निर्णय बैठकले गरेकाे महासचिव रमेश विष्टद्वारा जारी विज्ञाप्तिमा जनाईएकाे छ ।





























