stcnepal long ad
ime life insurance
national life
global ime bank long

‘बुद्धको देश नेपाल’ विमोचन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उहाँले कीर्तिमानी संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडर पृथक काम गर्दै आएको चर्चा गर्दै त्यसको पछिल्लो कडिका रूपमा श्वेतपत्र महाकाव्यको यो गीत रहेको बताउनुभयो ।

श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्नका लागि आफूले धेरै मिहिनेत गरेको सुनाउँदै संगीतकार तथा गायक श्रेष्ठले आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जाँदा यो गीत तयार भएको जिकिर गर्नुभयो ।

उहाँले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम गरिरहेको जानकारी गराउँदै श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोतारदर्शकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।

महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाही(वाही पाएको र कतै गाली खाएको बताउनुभयो । उहाँले भारतका केही ठाउँमा जाँदा यो कृतिका विषयमा अनावश्यक झण्झट बेहोर्नु परेको पनि सुनाउनुभयो ।

वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोडनु एकदमै राम्रो काम भएको भन्दा स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले नेपाली संगीत इतिहासको चर्चा गर्दा नयाँ–नयाँ प्रयोगले यस क्षेत्रलाई अझ समृद्ध तुल्याएको बताउनुभयो ।

श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पल्ट श्वेतपत्र महाकाव्य पढेको बताउँदै लेखक दाहालका अन्य धेरै कृति भए पनि यो अब्बल रहेको चर्चा गर्नुभयो ।

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले वरिष्ठ साहित्यकारका रूपमा आफूले दाहाललाई चिन्दै जान्दै आएको भए पनि आजदेखि गीतकारका रूपमा उहाँको परिचय थपिएकोमा बधाई दिनुभयो । गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको चर्चा गर्दै गजल स्वर्णदशकका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।

डा।यज्ञेश्वर निरौलाले महाकाव्यकार दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ र भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ जस्ता कृतिका बारेमा आफू परिचित रहेको बताउँदै ‘स्वेतपत्र’का बारेमा आफ्ना धारणा राख्नुभएको थियो । डा.निरौलाले ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत ह्रस्व दीर्घका नियमलाई ख्यालगर्दै एकदमै राम्रोसँग गायन भएको बताउनुभयो ।

प्रमुख अतिथि प्रा.डा.कोइरालाले उहाँका अन्य कृतिभन्दा महाकाव्य ‘स्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ विशेष भएको चर्चा गर्दै विद्रोही चेतनाको नवीन महाकाव्य कृतिका लागि साहित्यकार दाहाललाई शुभकामना दिनुभयो । उहाँले महाकाव्य लेखनको नियमको चर्चा गर्दै ‘स्वेतपत्र’ उत्कृष्ट भएको जिकिर गर्नुभयो ।

कार्यक्रमका सभापति प्रा।पुरुषोत्तम दाहालले महाकाव्यकार खेमनाथसँग आफ्नो पुरानो सम्बन्ध रहेको चर्चा गर्दै नेपाली साहित्यमा उहाँको योगदानको प्रशंसा गर्नुभयो । ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत र यसको भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘स्वेतपत्र’ महाकाव्यमा ४५ भन्दा बढी प्रज्ञाहरूले समालोचना गरेको कृति पाठकमाझ पनि आएको छ ।

कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा.बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, धरान २०२५ प्रवेशिका समूहका नेतृत्वकर्ता समाजसेवी भुपेन्द्र कार्की, डा.अंकुर दाहाल, उषा दाहाल, साहित्यकार रमेश दाहाल, चलचित्र जाचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाललगायत विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari