stcnepal long ad
ime life insurance
global ime bank long

ऐला लुवया : रातारात चर्चाको शिखरमा पुगेको एउटा गीत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । गएको दसैं नजिकिँदै गर्दा साँझतिर युट्युबमा ‘अपलोड’ गरिएको गीत रातारात ‘हिट’ होला भनेर रोजमान महर्जनले कल्पनासम्म गरेका थिएनन् ।

तर, भइदियो ठिक उल्टो, भोलिपल्ट बिहानै उठ्दा नेपाल भाषाको गीत ‘भाइरल’ भइसकेको थियो । मोबाइलमा ‘स्क्रलै’पिच्छे आफ्नो गीत बज्न थालेपछि रोजमानलाई हावामा उडेझैं भयो ।

झं झं धाल भ्वयः छेंया भ्वयः नया
ले ले ताल छंगु हे ख्वा स्वया
ऐला लुवया।। धे धे चुल
छँ ऐला लुवया छन्त स्ववय‘

अर्थात्, ‘भोजघरको खवाइ र तिमीले रक्सी खन्याउन आउँदाको मादकताले मदहोस नै बनायो,’ नेपाल भाषाको चर्चाको शिखरमा रहेको प्रस्तुत गीतका पंक्तिले यही
प्रस्ट्याउन खोज्दै छ । केटाको पोल्टामा परेका यी पंक्तिमा रोजमानकै आवाज सुन्न सकिन्छ ।

‘अहो १ त्यो बिहान सम्झिँदा अहिले पनि आनन्द महसुस हुन्छ,’ गायक तथा संगीतकार रोजमान महर्जन भन्छन्,
‘यो गीतले गत वर्ष आएको मेरै गीतको रेकर्ड तोड्यो । सार्वजनिक भएको २४ घण्टा नबित्दै झन्डै १ लाख भ्युज पुग्न लागेको थियो ।’

रोजमानले एक महिनाअघिको क्षण सम्झिँदै गर्दा अहिले ‘ऐला लुवया‘’को भ्युज ५० लाख पुग्न लाग्दै छ । ढेड महिनाकै अवधिमा ५० लाख भ्युज छुन लागेको नेपाल भाषाको यो पहिलो गीतमध्ये पर्छ ।

भ्वयः भ्वयः नया भाजु न भ्वयः वल
भे भे लुया ने थें द स्व वल
ऐला लुवया‘
धे धे चुल जीं ऐला लुवया
मन खुवया‘

गीतले भन्छ–

भोज खाने निहुँले मलाई हेर्न आयौै
रक्सी हाल्न आउँदा तिमी मद्होस भयौ‘

मूलतः दोहोरीमा आधारित यो गीत काठेभाकामा बुनिएको छ । गायिका निशा देशारले यस युगल गीतमा चमक स्वर दिएकी छन् । नेपाल भाषाको भइकन पनि अहिले ‘ऐला लुवया‘झ सर्वव्यापी बनेको छ । स्टेज, बिहेभोज, पिकनिक, मेला–उत्सव, जमघट सबैतिर यही गीत घन्किरहेको छ ।

‘भाषा, साहित्य र संगीतको सीमाना हुन्न’ भन्ने उदाहरण बनेको छ, ऐला लुवया । हरेक जाति–समुदायको माया बटुलिरहेको छ, यो गीतले । ‘एकदम खुसी लागिरहेको छ, गीत चल्छ भन्ने विश्वास थियो तर यसरी सबै समुदायको प्यारो होला भन्ने लागेको थिएन,’ २०६६ सालमा राष्ट्रव्यापी गायन प्रतियोगितामा प्रथम एवं रेडियो नेपालकी ‘क’ श्रेणीकी गायिका निशा देशार भन्छिन्, ‘यसका लागि सम्पूर्ण नेपालीप्रति हामी आभारी छौं ।’

कुनै दिन कुलेखानी घुम्न जाँदा गायक–संगीतकार तथा रचनाकार रोजमानको दिमागमा फुरिहाल्यो, ऐला लुवया । त्यस दिनभर उनको दिमागमा यही पंक्ति पिङ मच्चिएझैं मच्चिरह्यो । उनले मनमनै ट्युनिङ गरे, सँगैका साथीलाई सुनाए । ‘घरमा आएर गीत बनाएँ, ट्युनिङ पूरा गरें,’ रोजमान सम्झिन्छन्, ‘जीवनमा नौलो उपहार पाएको महसुस हुन थाल्यो । एकप्रकारले मन छुट्टै उत्साह सञ्चार भएको थियो ।’

सानैदेखि बाजासँग पिरती लाएका रोजमान मूलतः तालवादक हुन् । उनको हातका जुनसुकै बाजाले पनि ताल पाउँछ ।

अझ बढी त उनलाई परम्परागत सांस्कृतिक बाजा मन भित्रैसम्म गढ्छ । उनका गीतमा मौलिक बाजाकै प्रयोग बढी हुन्छ । गत वर्ष आएको नेपाल भाषाकै ‘सालुगु गाचा’ र ‘ऐला लुवया’मा पनि उनले सोही मौलिकता पछ्याएका छन् ।

‘आगामी दिन मेरा लागि अझ बढी चुनौती थपिएका छन्, मौलिकपन गाँसेर सिर्जना गर्न झनै हौसिएको छु,’ ललितपुर खोकना थातथलो भएका रोजमान भन्छन्, ‘मेरो सबैभन्दा ठुलो ध्येय भनेकै मौलिक बाजा संरक्षण हो । र, यी बाजा प्रयोग नै मूल प्राथमिकता हो, हुनेछ ।’

अघिल्लो ‘सालुगु गाचा’झैं ‘ऐला लुवया’को म्युजिक भिडियोमा पनि मनोज महर्जन र नेरिशा महर्जनले मुख्य भूमिका निर्वाह गरेका छन् । खोकनाकै उनीहरूको ‘केमिस्ट्री’ यसपटक पनि मज्जाले जमेको छ ।

prabhu mahalaxmi
kumari