९३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी विकास बैंक
काठमाडौं । ९३ हजार ४०७ कित्ता संस्थापक सेयर लुम्बिनी विकास बैंकले बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी युगराज रेग्मीको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोख्रेलको नाममा रहेको ४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंककै संस्थापक सेयरधनी, सर्वसाधारण लगानीकर्ता, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले बिहीबारबाट १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौमा निवेदन पेश गर्नुपर्नेछ ।
यसअघि संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नपरेको हुनाले अन्य लगानीकर्तालाई सेयर बिक्री गर्न लागिएको हो ।























