नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनमा बिहीबार प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमा यो विवरण उल्लेख छ ।
यसअघि नेपालीको प्रतिव्यक्ति आय एक हजार ३७७.६ अमेरिकी डलर थियो । आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रदेशगत रूपमा मधेश प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान छ ।
यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।
अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले बढेको छ । यसै अवधिमा सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रुपियाँ रहेको छ गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रुपियाँ रहेको थियो ।
२०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपियाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादनको ४३.८ प्रतिशत हो ।
आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ ।