नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ ।
आज आइतबार पुस २८ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन मार्फत् २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ ।
अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । जसको साँवा र ब्याज भुक्तानी मिति माघ २० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले पुस २४ गते बुधबार ८० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा १० बैंकहरुले १६ आवेदन मार्फत ६३ अर्ब ५५ करोड जम्मा गरेका थिए ।
जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ । त्यसअघि केन्द्रीय बैंकले पुस २१ गते ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा १४ बैंकहरुले १६ आवेदन मार्फत ४३ अर्ब ८५ करोड जम्मा गरेका थिए ।
जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ । त्यसभन्दा अघि पुस १७ गते २१ दिन अवधिको ४० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा ९ बैंकहरुले १४ आवेदन मार्फत २८ अर्ब जम्मा गरेका थिए । जसको औसत ब्याजदर २।९९ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस २४ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ३८ पटकमा १४ खर्ब ४६ अर्ब ६५ करोड रुपैयाँ उठाएको छ । यसमध्ये २ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ फिर्ता हुन बाँकी छ ।
यस्तै, स्थायी निक्षेप सुविधा अन्तर्गतको ६३ अर्ब ६० करोड रुपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ । राष्ट्र बैंकका अनुसार विभिन्न उपकरणमार्फत् बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल २ खर्ब ९५ अर्ब ९० करोड राष्ट्र बैंकमै छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६६ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५३ खर्ब ८२ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।
हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२७ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ३१ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।