सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सार्वजनिक निकायको सिफारिसमा उनीहरूलाई कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार धनुषाको मिथिला नगरपालिकाको सिफारिसमा दिपेन्द्र कुमार यादवको शुहानी निर्माण सेवा प्रालि, शम्भु मरबैताको मरबैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि र एस.एन.एस.एम.सी.सी. जेभी,जनकपुर-१४ लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको सिफारिसमा कैलालीको लम्कीचुहा नगरपालिका-१ स्थित नागवंशी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण कम्पनीका मुख्य व्यक्ति दुर्गा बहादुर बडुवाल हुन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको सिफारिसमा इन्फो डेभलपर्स प्रालि, भूपधी टेक्नो सर्भिसेज प्रालि र एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन्स प्रालिको संयुक्त उपक्रम (जेभी) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
उक्त जेभीमा उमेश रघुबंशीको इन्फो डेभलपर्स प्रालि, दीपक मेकाको भूपधी टेक्नो सर्भिसेज प्रालि र दीपक श्रेष्ठको एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन्स प्रालि संलग्न छन् ।
पर्वतको पैयूँ गाउँपालिकाको सिफारिसमा निरज प्रसाद तिवारीको किङ्गस कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यसैगरी, सडक विभागको हाइवे व्यवस्थापन सूचना प्रणालीअन्तर्गतको सूचना तथा सञ्चार प्रविधि शाखा, चाकुपाट, ललितपुरको सिफारिसमा विष्णु श्रेष्ठको शुभश्री टेक्नोलोजिज प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
सडक डिभिजन, भक्तपुरको सिफारिसमा इन्द्र बहादुर थापाको कान्तिपुर इन्फ्रास्ट्रक्चर एण्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।






















