विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकासम्बन्धी मामिला हेर्न सिस्लेन नियुक्त

काठमाडौँ । विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंका सम्बन्धी मामिला हेर्ने प्रमुखमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । उनले जुलाई १ देखि पदभार सम्हाल्ने विश्व बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि फारिस हदाद–जर्भोसले विश्व बैंकका लागि यो क्षेत्रको नेतृत्व सम्हाल्दै आएका थिए ।अमेरिका र इटलीको दोहोरो नागरिक रहेको र सन् २००१ मा अर्बान क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा सिस्लेन विश्व बैंक प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसयता उनले प्रक्रियागत र व्यवस्थापकीय पदमा विभिन्न क्षेत्रमा काम गरेका थिए । पछिल्लो समय वासिङ्टनमा रहेर सिस्लेनले ल्याटिन अमेरिका एवं क्यारिबियन क्षेत्रमा सहरी, विपत् जोखिम व्यवस्थापनमा प्राक्टिस म्यानेजरका भूमिकामा कार्यभार निर्वाह गरेका थिए ।
‘म मेरो नयाँ भूमिकाप्रति उत्साहित छु र हाम्रा सम्पूर्ण सरोकारवाला एवं साझेदारहरूसँग चाँडै भेट्न आतुर छु,’ सिस्लेनले भनेका छन्, ‘सरकारी निकाय, विकास साझेदार र विविध सरोकारवालाहरूसँग विश्व बैंकका प्राथमिकताअनुरूप रणनीतिक बहस मार्फत प्रक्रियागत कार्यहरूलाई अघि बढाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ ।’
विश्व बैंकअन्तर्गत करिब ४.८ अर्ब डलरको पोर्टफोलियो रहेको माल्दिभ्स, नेपाल र श्रीलंका क्षेत्रका बैंकका गतिविधिहरूमा सिस्लेनले दिशानिर्देश गर्नेछन् ।