stcnepal long ad
global ime bank long

अस्वस्थ प्रतिस्पर्धा गर्दा सहकारीसंस्थाहरू समस्यामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताउनुभयो ।

जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उहाँको थियो । “सहकारीहरू बैङ्कभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो ।

सरकारले समस्या समाधान गर्ने होइन,” उहाँले भन्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव गोकर्णमणी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राख्नुभयो ।

“सहकारीहरूले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्मसमीक्षा गर्ने बेला भएको छ, अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको क्षेत्र अहिले आफैँ ठुलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठुलो असर पुर्‍याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

सहकारी विभागका रजिस्ट्रार प्रीताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

उहाँले सहकारीको प्रभावकारी नियमनका लागि वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताउनुभयो ।

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सहकारी लोकतन्त्रको पाठशाला भएको र लेखा सुपरिवेक्षण समिति सहकारीको आँखा रूपमा हेरिएको चित्रण गर्नुभयो ।

 

IME Lifesidebar
kumari